गएको चैतबाट सिनेमा हलमा नयाँ फिल्म प्रदर्शन भएका छैनन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि देशभरका सिनेमा हलमा ताल्चा लाग्यो । संक्रमितको संख्या बढिरहेका कारण दशैंअघि सिनेमा हल खुल्ने सम्भावना न्यून हुँदै गएको छ । जसले गर्दा सिनेमा हलका लागि बनाइएको फिल्म ‘लक्ष्मी पूजा’ अब टेलिभिजनमा रिलिज हुने भएको छ ।
कात्तिक ७ गतेबाट डिस होममा प्रदर्शन हुन लागेको फिल्मलाई समिर मियाँले निर्देशन गरेका हुन् । यो फिल्मको ट्रेलर र एक गीत यूट्युबमा सार्वजनिक भइसकेको छ । यसबीच, बुधवार निर्माण टिमले फिल्ममा समावेश ‘फुर फुर पुतली’ बोलको गीत सार्वजनिक गरेको छ । माण्डवी त्रिपाठी र अंकित न्यौपानेको स्वर रहेको गीतमा दयाराम पाण्डेको शब्द, विपिन आचार्यको संगीत छ ।
गीतको भिडियोमा अभिनेता सलोन बस्नेत र मोडल रियाशा दाहाल फिचर छन् । फिल्ममा उनीहरु अथिती भूमिकामा छन् । फिल्मका प्रमुख कलाकारहरु जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुरेलीको पनि गीतमा नृत्य छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको अडियो कमजोर छ । गीतलाई आकर्षक बनाउन निर्माण टिमले सेटअपमा भने मेहनत गरेको छ ।
फिल्मलाई सौरभ लामाले खिचेका हुन् । भने, सम्पादनको जिम्मेवारी गौतमराज खड्काले सम्हालेका छन् । सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको फिल्मलाई निर्देशन शोभित बस्नेतले निर्माण गरेका हुन् । फिल्ममा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुरेली, नीर शाहलगायतको अभिनय छ । ‘लक्ष्मी पूजा’ मा जाहान्वीले दोहोरो भूमिका निर्वाह गरेकी छन् ।
गीत हेर्नुहोस् :-