विराटनगर जुट मिल्सको पर्खाल भत्किँदा एकजनाको मृत्यु

News

by admin 1 year ago 548

विराटनगर जुट मिल्सको पर्खाल भत्किँदा एकजनाको मृत्यु

Source: Onlinekhabar

८ असोज, विराटनगर । विराटनगर जुट मिल्सको पर्खाल भत्किँदा विराटनगरमा एकजनाको मृत्यु भएको छ । जीर्ण अवस्थामा रहेको मिलको पर्खाल बिहीबार बिहान भत्किँदा विराटनगर महानगरपालिका- १५ की ५५ वर्षीय सम समेरुन निसाको मृत्यु भएको हो ।

निरन्तरको वर्षासँगै जुट मिल्सको हड्ताली हाटभित्र रहेको मजदुर लाइन क्वाटरको उत्तरतर्फको पर्खाल भत्किएको थियो । पर्खाल नजिकै कल छ । पर्खालले कलमा पानी लिन पुगेकी निसालाई किचेको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार वर्षौं पुरानो पर्खाल वर्षाका कारण भत्किएको हो । घर नजिकैको भवन छेउमा रहेको कलमा पानी लिन गएकी महिलालाई खुट्टा धुँदै गरेको अवस्थामा इँटाको गाह्रो लगाएर बनाइएको पर्खाल लडेर किचेको डीएसपी राईले बताए ।

बिहान १० बजे घटनामा परेर महिला गम्भीर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा दिउँसो १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिक्रम संवत १९९३ सालमा स्थापना भएको विराटनगर जुट मिल्स मुलुककै जेठो उद्योग हो । ६७ बिघा क्षेत्रफलमा फैलिएको मिल्स बन्द अवस्थामा छ ।

Similar Posts